भावीयोजना : संमृद्धिका लागि विकास र विकासका लागि संमृद्धि


संमृद्धि



राम्रो गर्दै जानेक्रमको लामो प्रकृया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै संमृद्धि हो । विकास र संमृद्धि परिपूरक पदावलीहरू हुन् । यद्यपि यिनीहरू बीचको सारभूत अर्थ धेरै भिन्न रहेको छ । कतिपयले यसलाई एउटै डालोमा कोचेर विश्लेषण गर्नेगरेको पनि पाइन्छ । तर सारतः विकास र संमृद्धिमा धेरै अन्तर छ । कुनै पनि मानव समाजमा सबैखाले वा समानुपातिक विकास एउटा विन्दुमा पुगेपछि अभिव्यक्त हुने उच्चतम वा उन्नत सामाजिक रूप नै संमृद्धि हो । यसमा समानता र न्यायमा आधारित सुन्दरता, शान्ति, एकरूपता र वैभव अन्तरनिहित हुन्छ । भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्था नै समृद्धि हो ।
समृद्धि विकास प्रयासको उच्चतम प्राप्ति हो । विकास हासिल गरेपछि त्यसको पहिलो प्रभाव संमृद्धि हो भने अन्तिम उपलब्धि सुख हो । संमृद्धि विकासको भौतिक पक्ष हो भने सुख वा खुसी आध्यात्मिक पक्ष हो ।
विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपुर्ण सम्पन्नता सहितको ‘संमृद्धि’ निर्माण नै आजको आवश्यकता हो । जनताबीच आर्थिक सामाजिक समानता, सेवाप्रवाहमा समान पहुँच र जनताबीच सुमधुर सम्बन्ध नै खुसी हो । उच्च दरको आर्थिक वृद्धि, सम्मानित रोजगारीको सिर्जना, व्यापार सन्तुलन, पर्यावरणीय सन्तुलनलाई केन्द्रबिन्दुमा राखी नागरिकलाई शान्ति, पूर्णस्वतन्त्र, स्वशासित, समतामूलक तथा स्वाभिमानको प्रत्याभूतिसहित सम्पूर्ण विशेषताहरुको उपलब्धता भएको समृद्ध समाजको निर्माण गर्नु नै वास्तविकरुपमा संमृद्धि हो ।

विकास



कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ । सार्वभौमतः यो अघिल्लो भन्दा गुणात्मक रूपमा नै फरक हुन्छ, अर्थात् वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रिया नै विकास हो । यो एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने आन्दोलनको प्रक्रिया हो । यसले पुरानो विशेषता, बुझाइ र मनोविज्ञानलाई पनि रूपान्तरण गर्छ । यसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छ । यसैको पूर्ण र सग्लो रूप नै विकास हो । त्यसैले विकासको परिभाषा बृहत छ ।
विकास बहुक्षेत्रको लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिबिम्ब हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँदछ । विकासलाई साधरणतया आर्थिक वृद्धिको पक्षसँग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ । यो एउटा परम्परागत तर बढी चलनचल्तीमा रहेको अवधारणा हो । अर्थ शास्त्रीय अवधारणाले विकास भन्नाले कूल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ भने समाज शास्त्रीय अवधारणाले आर्थिक वृद्धि सँगसँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ । विकास सम्बन्धी अवधारणा मानव सभ्यताको विकासक्रमसंगै कुनै न कुनै रूपमा प्रचलित रहँदै आएको भएता पनि पश्चिमी युरोपले १८औँ शताब्दी तिर अवलम्बन गरेको पुँजीवादी अवधारणा अन्तर्गतको आर्थिक समृद्धि तर्फ उन्मुख हुने रणनीतिपछि विकासको अवधारणाले बढी मूर्त रूप पाउन थालेको देखिन्छ । त्यस्तै अर्थशास्त्रका पिता एडम स्मिथको खुला अर्थतन्त्रीय अवधारणाले पनि आर्थिक समुन्नतिलाई नै विकासको मूल आधार बनाएको छ । यसै बिचमा कार्लमाक्र्सले वर्ग सङ्घर्षको प्रतिफल र श्रमिक वर्गको हक हित र उन्नतिको स्वरुपलाईनै वास्तविक विकास हो भनेका छन् ।
हाम्रो देशमा योजनाबद्ध विकास र गरिवी निवारण केन्द्रीत विकास प्रयासले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घटेको देखिए पनि गरिब र धनीबीचको खाडल फराकिलो बनेको छ । देशको नब्बे प्रतिशत सम्पति केवल १० प्रतिशत धनाढ्यहरुसँग छ भने नब्बे प्रतिशत जनतासँग केवल १० प्रतिशत मात्र धनसम्पति रहेको छ । शहरी तथा ग्रामीण एवम् विभिन्न भौगोलिक क्षेत्र, लैगिंक र सामाजिक समूहबीच धनको वितरण पनि असमान छ । पूर्वाधारको निर्माणमा पनि समानता छैन । देशमा गरिवी रहेसम्म, आवश्यक पूर्वाधारको विकास नभएसम्म, मानव संसाधन असक्षम रहिरहेसम्म तथा रोजगारीका अवसर सिर्जना नभएसम्म विकास र संमृद्धि प्राप्त हुन सक्दैन । संमृद्धि प्राप्त नभएसम्म जनतामा खुसी र सुख (ह्याप्पिनेस) पनि आउँदैन ।
अझै पनि २१.६ प्रतिशत नेपाली जनता गरिवीको रेखामुनि छन् । देशको बर्तमान वार्षिक औषत आर्थिक बृद्धिदर ६ प्रतिशतको हाराहारीमा छ । नेपाल राष्ट्र बैंकका अनुसार मुद्रास्फिति ३.७ प्रतिशत रहेको छ, जुन एउटा सकारात्मक पक्ष हो । तर, निर्यातको तुलनामा आयात उच्चदरमा बढिरहेकाले व्यापारघाटा उच्च छ । उच्च व्यापारघाटाको कारण विदेशी विनिमयको सञ्चितिमाथि दवाव बढेको छ । तरपनि विदेशी विनिमयको सञ्चिति ९ महिनाको आयात धान्न मात्रै पर्याप्त छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सकारात्मक भए पनि भूमिका नगन्य जस्तै छ ।
बैंकहरुमा लगानी गर्न सक्ने गरी तरलता छैन् । तरलताको अभावमा लगानी अवरुद्ध बनेको छ । आर्थिक नीतिमा देखिएको अस्थिरताले पूँजी बजार डग्मगाएको छ । दिगो विकासका लक्ष्यहरुलाई राष्ट्रिय नीति योजना तथा वार्षिक कार्यक्रममा समाहित गरी लक्ष्य प्राप्त गर्न बस्तुनिष्ठ सूचकहरु निर्माण गरी कार्यक्रम कार्यान्वयन गर्न पाए हुन्थ्यो भन्ने रोईलो राष्ट्रिय योजना आयोगको छ ।
लगानीका क्षेत्रहरुको पहिचान गर्नुपर्ने र लगानीका लागि धनको अपर्याप्तता भएको स्वीकार दिगो विकास लक्ष्यहरुमा आयोगले नै गरेकोछ । प्रदेशगत रुपमा तुलनागर्दा पनि गरिवी र विकासमा देखिने गरि असमानता छ ।
संमृद्धि विकासबाट मात्र प्राप्त हुन्छ । विगतको विकासको समिक्षा गर्ने हो भने टीठलाग्दो अवस्था देखिन्छ । हाम्रो देशमा विकास तदर्थवादमा आधारित भएर गरियो । शासकका ईच्छा तत्काल के बाट पूरा हुन्छ, त्यसको मात्रै विकास गरियो, जुन दिगो भएन र जनसंख्या बृद्धिको भारलाई थेग्न पनि सकेन । विकासको नारा दिएर सरकारले अरबौ रुपैया खर्च गर्यो । विकास पनि धेरथोर हासिल गर्यो । तर त्यसको समान वितरण हुन सकेन । थोरै हुनेखानेले मात्र उपभोग गर्न पाए । धनी र गरिबबीचको खाडल झन फराकिलो बन्यो ।
विकासका नाममा प्राकृतिक स्रोतहरुको अवैज्ञानिक उपयोग गरियो । पहाडी गाउँहरुमा बाटो बनाउन भन्दै विचारै नगरी जताततै डोजर जोतियो, वनजंगल फाँडियो । पानीका सबै मुहानहरु सुके । पहाडका हरिया डाँडाहरु खैरा बने । शहरमा ठूला ठूला भवनहरु बने ।
शहरमा पनि परम्परादेखि पानी खाइरहेका धाराहरु सुके । जलस्रोतको धनी देशमा अहिले खानेपानीको हाहाकार गाउँ शहर दुवैतिर छ । पानी र आधुनिक सुविधाको खोजीमा गाउँलेहरु गाउँ छोडेर हिँड्न बाध्य छन् । तराईका शहर बजारमा मान्छे थुप्रिएका छन् । शहर बजार र तराईलाई जनसंख्या धान्न नसक्ने अवस्थामा पुर्याएको छ । विकासको नाममा स्थानीय मौलिक संस्कृतिमाथि पनि चरम शोषण भयो । स्थानीय संस्कृतिहरु हराएर गए । यसप्रकारको निष्ठुरी विकासले सुख होइन, तनाव मात्र दिएको छ । संमृद्धि को त कल्पनासम्म गर्न सकिँदैन ।
त्यसैले वर्तमान सरकारले लिएको संमृद्ध नेपाल सुखी नेपाली को लक्ष्य वैज्ञानिक छ । संमृद्धि र सुखी नेपाली विकासको एक दीर्घकालीन लक्ष्य हो । संमृद्धि र सुखीको लक्ष्य हासिल गर्न सजिलो छैन, तर नसकिने भने होइन । आफ्नो कमजोरी पहिचान नगरेसम्म विकास गर्न र समाज परिर्वतन गर्न सकिँदैन । न्यून आर्थिक वृद्धि, गरिबी न्यूनीकरणका कार्यक्रम कार्यान्वयनमा सुस्तता, धनी र गरिब, शहरी तथा ग्रामीण क्षेत्र एवं विभिन्न भौगोलिक क्षेत्र र समुदायहरूबीच रहेको गरिवीको खाडल, सीप, पुँजी र प्रविधिमा बहुसङ्ख्यक जनताको पहुँच कम, लगानीमैत्री वातावरणको निर्माण तथा औपचारिक वा सङ्गठित क्षेत्रमा संयुक्त लगानीमा आधारित उद्योगको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारीका अवसरहरू उपलब्ध गराउन सकिएन भने संमृद्धि प्राप्तिका प्रमुख बाधक हुन सक्छन् । त्यसैले कार्यान्वयनमा चनाखो हुनु जरूरी छ ।
अनौपचारिक क्षेत्रमा अत्यधिकरूपमा केन्द्रित विद्यमान अदृश्य बेरोजगारीलाई घटाउनु, कृषिमा आश्रित आवश्यकताभन्दा बढी जनसङ्ख्यालाई क्रमिकरूपले गैरकृषि क्षेत्रमा स्थानान्तरण गराउनु, स्थानीय सीप, पुँजी र प्रविधिमा पहुँच भएका स्वदेशी उद्यमीहरूको निमित्त स्वरोजगार प्रवद्र्धन गर्नु तथा प्रतिस्पर्धाका आधारमा सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन गर्नु समृद्धिका चुनौतीका रूपमा रहेका छन् ।
संघीय शासन प्रणालीमा सरकारका तहहरुबीच स्रोतसाधनको उपलब्धता समानरुपमा नहुनु, राजस्व तथा प्राकृतिक स्रोतको बाँडफाँड, संघ र प्रदेश, अन्तरप्रदेश तथा स्थानीय तहबीच समन्वय अभाव, सुशासनको कमी, नीति तथा कार्यक्रमहरुको सवल कार्यान्वयनको कमी, बढ्दो व्यापार घाटा र घट्दो औद्योगिक उत्पादन, आवश्यक पूर्वाधारको निर्माणको अभावले सन्तुलित र समानरुपमा विकास गर्न कठिन हुनु बाधाहरु हुन् ।
संमृद्धि र खुसीका लागि समाजबाट गरिबी समाप्त हुनुपर्दछ । तर गरिबी निवारणका लागि विभिन्न निकायहरूबाट सञ्चालित गरिबी निवारण कार्यक्रमहरूबीच समन्वयको अभाव रहनु, मानव क्षमता विकासका कार्यहरू पर्याप्त नहुनु एवम् नीति, योजना र बजेट कार्यक्रमबीच समानजस्य नहुनुजस्ता समस्याहरूले सङ्ख्यात्मक रूपमा गरिबीको तथ्याङ्कमा सुधार आएको देखिए तापनि आर्थिक असमानता भने कायमै रहेको पाईन्छ ।
देशमा व्याप्त गरिबी घटाई, पूर्वाधारको अभाव मेटाई आर्थिक संमृद्धि प्राप्त गर्नु आजको आवश्यकता हो । यसकार्यको जिम्मेवारी समग्र सरकारका तह, अङ्गहरू तथा सरोकारवालाहरूसमेतको भएकोले विभिन्न निकायहरूबाट सञ्चालन हुने यस्ता कार्यक्रमहरू प्रभावकारी हुनुका साथै ती निकायहरूबीच समन्वय हुनु पनि जरुरी छ ।
संमृद्धि हासिल गर्ने मार्गमा सकारात्मक पक्षहरु पनि धेरै छन् । स्थिर सरकार, मुलुकको भौगोलिक विविधता, संघीय प्रादेशिक र स्थानीय संरचना, निर्वाचन र जिम्मेवारीवहन, संघीय शासन प्रणालीबाट केन्द्रमा रहेको अधिकार प्रदेश र स्थानीयतह हुँदै गाउँ गाउँ पग्नु, सरकारका तीनै तहहरु कानून बनाउन र कार्यान्यन गर्न तथा स्रोतसाधन जुटाउन र खर्च गर्न स्वतन्त्र हुनु, गाउँ शहरमा जनताको चेतनाकोस्तर बढनु, गरिब घर परिवार पहिचान र गरिब लक्षित कार्यक्रम सञ्चालन, कृषि, पर्यटन, पूर्वाधार निर्माण तथा सेवा क्षेत्रको विस्तार तल्लो तहबाट नै आर्थिक वृद्धि एवम् रोजगारी सिर्जना गरि गरिबी घटाउन र संमृद्धि प्राप्त गर्न बलियो अवसरको रुपमा रहेको छ ।
सुशासनप्रतिको प्रतिवद्धता नयाँ सान्र्दभिक कानूनको तर्जुमा, असल अन्तर्राष्ट्रिय सम्बन्ध, विकासप्रतिको जनताको अभिलाषा विकासमा महिला र विभिन्न जातिहरुको उल्लेख्य सहभागिता तथा विकासका लागि सहभागी हुन उत्साहित निजी क्षेत्र संमृद्धि प्राप्त गर्ने थप अवसरहरु हुन् ।
उपभोगमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित नबनाएसम्म देशभित्र रोजगारी सिर्जना हुन सक्दैन । यसकारण उत्पादनमूखी लगानीमा जोड दिनुपर्छ । लगानीका लागि नीतिगत स्थिरता र दिगो र विश्वासिलो लगानी वातावरण हनुपर्दछ । साथै लगानीका लागि देशभित्र ऋण प्रवाह क्षमता पनि सशक्त बनाउनु पर्छ । मानव संसाधन तुलनात्मक लाभ भएको क्षेत्र भएकाले मानव संसाधन विकासमा जोड दिनुपर्दछ । सुशासन र विधिको सुशासन कायम गर्नुपर्दछ ।
कर्मचारीतन्त्रको सफल परिचालनविना सरकारका नीति र कार्यक्रमहरु कार्यान्वयन हुँदैनन् । यसकारण विकास र संमृद्धि हासिल गर्न कर्मचारीतन्त्रलाई उत्प्रेरित बनाइ राम्रोसँग सञ्चालन गर्नुपर्दछ । कर्मचारीको उच्च मनोबल बनाउन सकियो भने वर्तमान नेपाल सरकारले लिएको संमृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पुरा गर्न सकिने छ ।
सवै पक्षबाट विकास र संमृद्धिका लागि वातावरण तयार भएको अवस्थामा विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सवै पक्षलाई प्रभाव पारेको छ । नेपाल सरकारले समयमा लकडाउन गरेर रोकथाम अप्नाएको र नेपाली जनताले पूर्णसाथ दिएकोले ठूलो क्षति हुनबाट जोगिएको भन्न सकिन्छ । तर अव विकास र संमृद्धिका लागि नयाँ रणनीति अप्नाउन जरूरी छ ।
अन्त्यमा,
युवाशक्तिलाई वैज्ञानिक कृषि प्रणालीमा र पर्यटन व्यवसायमा आकर्षित गर्ने, कृषि योग्य भूमिलाई बाझो रहन नदिने, जलश्रोतलाई प्रभावकारी परिचालन र उपयोग गर्ने, स्वस्थ्य र गुणस्तरीय साकाहारी भोजनमा जनचेतना फैलाउन खानामा वैज्ञानिक विविधिकरण गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउने, सूचना र सञ्चारलाई विकासमा जोड्ने, विभिन्न धार्मिक स्थानलाई संरक्षण गर्दै योगाभ्यास स्थल र अनुष्ठानको रूपमा विकास गरी जेष्ठ नागरिकहरूलाई समेत स्वस्थ्य बनाउने, विकास हामी भित्र छ भन्ने धारणालाइ जोड दिई रोजगारी श्रृजना गर्ने रणनीति बनाउने, अनुशासन र मर्यादालाइ नैतिक शिक्षासँग जोड्ने, लकडाउनलाइ जसरी एक भएर नेपाली जनताले नेपाल सरकारलाई सहयोग गरेका छन् यसैगरी विकासमा यस्तै एकता श्रृजना कायम राख्न जनभावनाको कदर गर्ने प्रणालीलाई ब्यवहारिक बनाउने, सुशासन उलंघन हुन नदिन प्रभावकारी कानुन निर्माण गर्ने, सरकार सञ्चालनमा कुनै गतिरोध उत्पन्न नहुने वातावरण तयार गर्ने र कर्मचारीतन्त्रको मनोबल बढाई प्रभावकारी सञ्चालन र परिचालन गर्ने, प्रशासनमा राजनीति हस्तक्षेप नहुने वातावरण तयार गरी भ्रष्टाचारमुक्त शासन सञ्चालन गर्ने, खेर गएको प्राकृतिक श्रोत साधनलाई उच्चतम प्रयोग गरी पेशामा वैज्ञानिक विविधिकरण गर्ने, रोजगारी श्रृजना गर्ने किसिमको पूर्वाधार तयार गर्ने तथा भोतिक पूर्वाधारमा अनिवार्य आवश्यकतासँग जोड्ने, जमिनको खण्डिकरणलाइ निरूत्साहित गर्ने, एकिकृत तथा ब्यवसायिक कृषि विकासका लागि भूमि बैंक स्थापना गर्ने, विद्यमान सुरक्षा संयन्त्रलाई व्यवसायिक प्रविधि मैत्री बनाउने र जनशक्तिलाई विकास र संमृद्धिमा उत्साहित गर्न सकेमा अहिले विकासको बाधक बनेको कोरोना भाईरस जस्ता अनेक विपत्ती वा महामारीलाई परास्त गर्न सकिने छ । यसरी उच्चतम विकास गरी संमृद्धिको लागि विकास र विकससका लागि संमृद्धि हासिल गर्न सकिनेमा विश्वास लिन सकिन्छ ।
(लेखकः सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

Comments