कोरोना भाइरस : उपचार र नियन्त्रणमा स्थानीय तहको भूमिका ।


२८ चैत । टेकराज पन्थी

चीनको वुहानबाट संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) दूषित तरल र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवेइ प्रान्तबाट सुरु भएको यो नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा समेत हालसम्म ९ जनामा भेटिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसको संक्रमणको अवस्था बारे हरेक दिन जानकारी गराइरहेको छ ।

कोरोना भाइरसको संक्रमण नेपालसहित चीन, इटाली, स्पेन, अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत २०४ देशमा फैलिदा महामारीकोरुपमा विश्वब्यापी भइसकेको छ । हालसम्म मानवमा देखा नपरेको र उपचारको उपाय समेत पत्ता नलागेको कोरोना भाइरस संक्रमणले मानव अस्तित्व माथि नै खतराको घण्टी बजाइरहेको छ ।

के हो त कोरोना भाइरस ?
कोरोना भाइसरको वास्तविक नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकी देखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ भन्ने विज्ञहरूको भनाइ छ ।

कोरोना भाइरस संक्रमणका लक्षणहरू
– रुघा खोकी लाग्नु,
– १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु
– घाँटी, टाउको तथा जिउ दुख्ने
– निमोनिया हुनु
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

कसरी बच्ने ?
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– नियमित साबुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने
– खोक्दा र हाछ्युँ गर्दा टिस्यू पेपरले नाक र मुख छोप्ने, राम्रो खालको सर्जिकल मास्क लगाउने
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्कमा नजाने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो माथि उल्लेखित लक्षण देखिए तुरुन्त अस्पताल जाने

कोरोना भाईरसबाट सुरक्षित रहने तरिकाहरु
– पोषिलो, झोलिलो र घरमा बनेको ताजा खाने कुरा खाने ।
– हरियो सागसब्जी, फलफूल, दुध, गेडागुडी नियमित खाने ।
– भिटामिन सि, बी, ई, जिनलगायत पोषण पाउने खाना सेवन गर्ने ।
– नियमित व्यायाम, योग, हाइकिङ् गर्ने, घाममा बस्ने ।
– नियमित अनुलोम विलोम गर्ने, यसले फोक्सोको कार्य क्षमता वृद्धि गर्दछ ।
– चुरोट, सुर्ती, रक्सीस्ता हानिकारक पदार्थको सेवन नगर्ने ।
– बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने ।
– लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना सेवन गर्ने ।
– भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
– समयमै सुत्ने बैलैमा उठ्ने ।
– पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाइ गरौँ ।
– मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गर्ने ।
– दिल खोलेर हाँस्ने ।
– दुधचिनी नहालेको चिया र कफी नियमित सेवन गर्ने ।
– ब्रोकाउली तथा च्याउको नियमित सेवन गर्ने ।
– सरसफाइमा विशेष ध्यान दिने, २० सेकेण्डसम्म साबुनले राम्रोसँग हात धुने ।
– सामाजिक दुरी कायम गरि बस्ने ।
– पर्याप्त मात्रामा तातो पानी पीउने, घाटी दुखेमा नूनपानीले कुल्ला गर्ने ।

अहिले देखिएको कोरोना भाइरस एकदमै नयाँ किसिमको भाइरस भएकाले यो एक जीवबाट अर्कोमा सजिलैसँग सर्न सर्नसक्छ । यो भाइरसको डरलाग्दो पक्ष भनेकै संक्रमण फैलिसक्दा पनि यसको बारेमा प्रायःलाई थाहा नहुनु हो ।
नोटिङ्गम यूनिभर्सिटीका एक भइरोलोजिस्ट प्रोफेसर जोनाथन बल भन्छन्‚ ‘यो एकदमै नयाँ किसिमको भाइरस भएकाले यो भाइरस पशुबाट मानिसमा सरेको अनुमान गर्न सकिन्छ तर प्रमाणित भै सकेको भने छैन ।

नजिकै खोक्दा तथा हाछ्युँ गर्दा कोरोना सर्ने भन्दै सचेतना अपनाइरहेको अवस्थामा दूषित तरल र सतहबाट समेत बच्नुपर्ने अध्ययनमा संलग्न नेल्तेजे भ्यान डोरेमालेनले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो समय देखा परेको यो रोगको उत्पत्ति श्वास नलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएकोले बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ्य मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छ । डब्लुएचओले कोरोना संक्रमण फैलिन सक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।

यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । तर अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको यो कोरोना भाइरस जनावरबाट जनावरमा सर्ने भनिएता पनि अहिले मानिसबाट मानिसमा सर्दैगएको छ । यो भाइरस लाग्दैमा मानिस मर्दैन तर कमजोर, रोगी, रोग प्रतिरोधात्मक क्षमता कमी भएकाहरूलाइ अलि जोखिम बढी देखिएको छ । विश्वव्यापीरुपमा यो भाइरस संक्रमितको मृत्युदर हेर्दा निको हुनेको संख्या अधिक छ । त्यसैले अनुशासीत भएर सरसफाइ र खानपिनमा बढी सचेत हुनु जरुरी छ । यो नोवेल कोरोनामा मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै रहेको स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कसरी थाहा पाइन्छ ?
मौसम अनुसार रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । यसको डरलाग्दो पक्ष भनेको यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । भीडभाडमा नजाने, जरूरी काम नभै घर बाहिर नजाने र लकडाउनलाइ सकृय रूपमा जिम्मेवारीपूर्वक सफल बनाउन सके संक्रमणबाट जोगिन सकिन्छ ।

नेपाल सरकारले मुलुकलाई कोरोना संक्रमणबाट जोगाउन २०७६ चैत्र ११ गते देखि २०७७ बैशाख ३ गतेसम्म लकडाउन गरेको छ । यस उत्तम निर्णयबाट महामारी नियन्त्रण गर्न महत्वपूर्ण उपाय ठानिएको छ । कतिपय मानिसले त्यति ध्यान नदिएको र अनावश्यक घर बाहिर निस्कीएको पाइन्छ जसलाइ समाजप्रतिको दायित्वलाइ चटक्कै बिर्सेको भनिन्छ । अनावश्यक घरबाहिर निस्कदा संक्रमण फैलिन्छ भन्ने जानकारी हुदाहुदै लकडाउन उलंघन गर्नेलाइ स्थानीय तह र सुरक्षाकर्मीबाट कार्वाहीको दायरामा ल्याउनुपर्छ । यसतर्फ सजग रहनु आफु, आफ्नो परिवार र समाज मात्र हाईन सिंगो देशलाईनै सुरक्षित बनाउन भुमीका खेल्दैछु भन्ने बुझिदिन सवैमा अनुरोध गर्दछु ।

स्थानीय तहको भूमिका
लकडाउनको यस महत्वपूर्ण समयमा स्थानीय तहले अत्यावश्यक काम बाहेक घर बाहिर निस्कीन नदिने, संक्रमण फैलिन विदेश तथा बाहिरबाट अएकालाइ अनिवार्य क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनको उचित ब्यवस्था गर्ने , प्रदेश सरकारको समन्वय र सहयोगमा Isolation निर्माण गर्ने, जनचेतना फैलाउने, अत्यावश्यक सामाग्रीको व्यवसाय गर्नेलाइ सामाजिक दुरी कायम गरी सुरक्षित रूपमा व्यवसाय गर्न व्यवस्था मिलाउने, अत्यावश्यक औषधिको ब्यवस्था गर्ने, Fever Camp खडा गर्ने, अन्य स्वास्थ्य सामाग्रीहरूको उचित ब्यवस्था गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गर्ने रहेको छ । र यस विषम परिस्थितिलाइ मध्यनजर गरी थप सतर्कता अपनाउने र संक्रमण मुक्त बनाउने उपाय अवलम्बन गर्ने रहेको छ ।

सैनामैना नगरपालिकाले विषम परिस्थितिमा गरेका कार्यहरू
कोरोना भाइरसको संक्रमण फैलिन नदिन, जीउधनको सुरक्षा गर्न नगर कार्यपालिकाको वैठक बसी कोरोना भाइरसबाट सुरक्षित रहन जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको छ । पर्चा–पम्प्लेटबाट जानकारी गराइएको र सूचना अधिकृतको संयोजकत्वमा पत्रकार तथा स्थानीय सञ्चारकर्मीहरू सहित जनचेतनामूलक सूचना सम्प्रेषण गर्न कार्यदल गठन गरी स्थानीय चारवटा एफएम रेडियो र साझापत्र अनलाइन तथा टेलिभिजनबाट ब्यापकरूपमा सूचना प्रशारण गरी जनचेतना फैलाइ र प्रचारप्रसार गरियो । यस संकटको घडीमा असहाय, विपन्न, गरीवलाइ राहत उपलब्ध गराउने उध्देश्यले इच्छुक नगरवासी, संघ, संस्था, व्यक्ति, निकाय तथा सवैलाइ अनुरोध गरी नगद, खाद्यान्न तथा जिन्सी सामानको लागि सहयोगको लागि अनुरोध गरियो । जसमा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, ब्यक्ति, विभिन्न संघ संस्था, उद्ध्योगी, क्लव र विभिन्न पेशा व्यवसायीबाट नगद तथा खाद्यान्न प्राप्त भएको छ । जसको विवरण दैनिक नगरपालिकाको Website : www.sainamainamun.gov.np मार्फत जानकारी गराइदै आएको छ ।

विदेशबाट आउनेहरूलाइ क्वारेन्टाइनमा राख्न नगर प्रमुखको पहलमा पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा उपयुक्त क्वारेन्टाइन निर्धारण गरियो र वेडको ब्यवस्था, सिसि क्यामेरा जडान गर्ने ,खाने बस्ने ब्यवस्थापन, सुरक्षा व्यवस्था, डाक्टरसहितको मेडिकल टोलीको ब्यवस्था गरिएको छ । साथै प्रत्येक स्वास्थ्य केन्द्रमा र क्वारेन्टाइनको बाहिर गेटको नजिक Fever Camp खडा गरि स्वास्थ्यकर्मीलाइ खटाइ उचित ब्यवस्थापन गरिएको छ । साथै विदेशबाट आएका र Home Quarantine मा बसेकाहरूको अवस्था बुझ्न घर घरमा सुरक्षा अपनाइ स्वास्थ्यकर्मीहरूलाइ घरमा खटाइ अवस्था बुझ्ने गरिएको छ ।

सूरक्षा दुरी कायम गरी अत्यावश्यक सामानको बिक्रीवितरण कार्य गर्न ब्यवस्था मिलाइएको र कालो बजार हुन नदिन अनुगमनलाइ प्रभावकारी बनाइएको छ । अत्यावश्यक ओषधीहरु भएका मेडिकलहरूलाइ सूरक्षा दुरी कायम गरी सुचारू गर्न निर्देशन गरिएको छ । साथै सवै जनप्रतिनिधि अपरिचित ब्यक्ति वा बाहिरबाट अएकालाइ नगरपालिकामा खवर गरी क्वारेन्टाइनमा बसाल्ने ब्यवस्था मिलाइएको छ ।

नगर कार्यपालिकाको बैठकको निर्णयबाट नगर स्तरीय राहत सामाग्री वितरण तथा ब्यवस्थापन कार्यविधि पास भइसकेको छ । जसमा नगरस्तरीय जनप्रतिनिधिसहित कर्मचारी, सरोकारवाला दल, संघ संस्था, सुरक्षा निकाय, सञ्चारकर्मी सहितको राहत सामाग्री बितरण तथा ब्यवस्थापन समिति गठन गरि राहतलाइ ब्यवस्थित र पारदर्शी बनाइएको छ । संकलित राहतले सम्बन्धित वडा कार्यालयबाट प्रमाणित तथ्याङ्क अनुसार २००८ घर परिवारलाइ कार्यविधिमा तोकिएको मापदण्ड अनुसार नपुग हुने भएकोले सार्वजनिक खरिद एन,२०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ बमोजिंम नगरपालिकाबाट चामल, मिक्सदाल, चिउरा, खाने तेल, नुन र साबुन खरिद गरी प्राप्त तथ्याङ्क बमाजिंम सम्वन्धित बडा अध्यक्ष नै जिम्मेवार र जवाफदेही हुनेगरी विपन्न, असहाय, गरीव घरपरिवारलाइ नगरपालिकाबाट राहत सामाग्री उपलब्ध गराइ भर्पाई गराई सककिएको छ ।

विभिन्न संस्था र क्लवको सहयोगमा नगरपालिका अन्तरगत Disinfection Medicine छर्ने काम गरी कोरोना संक्रमण हुन नदिन शतर्कता अपनाइएको छ ।

महामारी फैलिन नदिन नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल लगायतसँग समन्वय, सहकार्य गरी अत्यावश्यक काम बाहेक घरमै सुरक्षित बस्न प्रेरित गरिएको छ । विरामी तथा असक्तहरूको लागि स्वास्थ्य संस्थासम्म लैजान ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । विदेशबाट अएका दाजुभाइ दिदिबहिनीहरूलाइ १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने, CONTACT TRACING गर्ने र विश्वब्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट जोगिन र सुरक्षित रहन विभिन्न रणनितिहरू अवलम्बन गर्ने, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय, सहकार्य गर्ने, स्वास्थ्य सामाग्रीहरूको अभाव हुन नदिने कार्य अवलम्वन गर्ने गरिएको छ ।

यस कठिन घडीमा स्थानीय संघ संस्था मात्र होइन सवै एकजुट भएर कोरोना विरूद्ध लड्नुको बिकल्प छैन । हामी सुरक्षित भएमा समाज सुरक्षित हुन्छ अनि समाज सुरक्षित बनाउन सकियो भने देश सुरक्षित हुन्छ भन्ने यथार्थलाई आत्मसाथ गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन सवैलाइ अनुरोध गर्दछु ।

Comments