आर्थिक विकासमा नयाँ रणनीतिः कोरोनाको महामारी

 



बालकदेखि वृद्धसम्म कोरोना शब्दले आजित बनाएकोछ । अहिले नेपालमा मात्र करिब ४० हजारको सेरोफेरोमा संक्रमण भएको अवस्था रहेको छ । जसले गर्दा नेपालमा कोरोना भाइरस संक्रमणमा देखिएको अस्वाभाविक उतारचढावले जनमानसमा अस्थिरताको वातावरण छाएको छ । बन्दाबन्दी र कोरोना भाइरसको महामारीबाट विश्वको आर्थिक विकासमा ठूलो प्रभाव पारेको छ ।

अहिले नेपालमा कोरोना संक्रमण फैलिने जोखिमको आधारमा क्षेत्रहरूलाई छुट्याई कम र मध्यम जोखिमपूर्ण क्षेत्रहरूमा मात्र बढी शतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थाअनुसार निषेधाज्ञा जारी गरी संक्रमण फैलिनबाट जोगाउने रणनीति अप्नाएको पाइन्छ । संक्रमणको दर बढ्दै जानुले छिट्रटै स्थिति सामान्य हुन नसक्ने देखिन्छ । देशमा तुरुन्त अर्थतन्त्रका नियमित क्रियाकलाप सामान्य अवस्थामा फर्किहाल्ने स्थिति पनि छैन ।
नेपालले अरू मुलुकहरूले जस्तै संक्रमणलाई पनि नियन्त्रणमा राखेर जति सकिन्छ, अर्थतन्त्रलाई चलायमान राख्ने सन्तुलित नीति लिएर अगाडि बढ्ने प्रयास गरेको देखिन्छ । तर नेपालमा नीति कार्यान्वयन पक्षदेखि लिएर यसलाई संस्थागत गर्ने क्षमताको कमीले गर्दा विषम परिस्थितिमा ठूलो चुनौती थपिएको छ । नेपालको राजनैतिक, प्रसाशनिक, व्यापारिकलगायत अरु क्षेत्रहरूमा पनि संस्थागत हुन गएको कर्तव्यविमुख संस्कारले नीतिगत सन्तुलन राखी काम गर्न निकै कठिन अवस्थाको सिर्जना भएको छ । जसले गर्दा अर्थतन्त्रलाई नराम्रोसँग प्रभाव पारिराखेको छ । अर्कोतिर स्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्ने व्यवस्था नमिलाएपछि फेरि संक्रमण फैलने डर हुन्छ, जसले अर्को मानवीय र आर्थिक नोक्सान निम्त्याउन सक्छ ।

यो महामारी कहिलेसम्ममा पूर्ण नियन्त्रणमा आइसक्छ भन्ने अनिश्चितताका कारण नै यसबाट पर्ने आर्थिक–सामाजिक प्रभावको यथार्थ निक्र्याैल गर्न पनि अहिले कठिन छ । यसलाई सन् १९३० पछिको ठूलो आर्थिक मन्दीको रूपमा लिइएको छ भने सन् २००८÷२००९ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि बढी प्रतिकूल हुने विज्ञहरूले अनुमान गरेका छन् । मानिस काममा जुट्न सक्ने अवस्था छैन, उद्योग, व्यापार, व्यवसाय ठप्प छ, कतिपयको रोजगारी अनिश्चित बन्न पुगेको छ र यसले गर्दा समग्र अर्थिक क्रियाकलापमा नै अप्ठ्यारो पारेको छ ।

जीवन रहे धेरै काम गर्न सकिन्छ जसले गर्दा जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी तदनुरुपका नीतिगत उपायहरुको अनुशरण र कार्यान्वयन गर्नुपर्ने भएको छ । यसका लागि स्वास्थ्य सुरक्षा प्रणालीको क्षमता अभिवृद्धि गर्न थप स्रोत जुटाउनुपर्ने अवस्था छ । अन्तर्राष्ट्रिय व्यापार, वैदेशिक लगानी, सेवा र सहायताका हिसाबले विश्व जगतसँगको हाम्रो सम्बन्धले गर्दा विश्व अर्थतन्त्रमा आएको मन्दीको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पनि परेको छ । कोरोना भाइरसको रोकथामका लागि भ्याकसिनको आविष्कार भै प्रयोगमा नहुञ्जेल हालको अवस्थामा केही सुधार हुने भएपनि तुरुन्त आर्थिक पुनर्उत्थान हुने अपेक्षा गर्न सकिन्न ।

कोरोना संक्रमणबाट प्रभावित गरिव र जोखिममा रहेका जनता र साना उद्योगहरुलाई राहत र अर्थतन्त्रलाई गतिशील एवं प्रोत्साहन गर्न विभिन्न देशहरुले राहतको कार्यक्रम ल्याएका छन् । यस अवस्थामा कृषि तथा सञ्चार क्षेत्रमा परेको सामान्य प्रभावबाहेक अर्थतन्त्रका अन्य सबै क्षेत्र उल्लेखनीय रुपमा प्रभावित भएका छन् । विदेशमा काम गर्ने नेपालीमध्ये अधिकांशको रोजगारी गुमेको छ र कतिपयको तलबसमेत घटेको छ । सरकारले आफ्नो सीमित स्रोत, आकस्मिक खर्च, स्वास्थ्य क्षेत्रमा थप रकम खर्च गर्नुपर्ने र राहतमा लगाउनुपर्ने हुनाले निर्माणाधिन परियोजना प्रभाव पर्ने एवं बजेट घाटा बढ्ने निश्चित छ । कोरोना महामारीले गर्दा शहर केन्द्रित आर्थिक गतिविधिलाई गाउ केन्द्रित पनि बनाउन पर्छ जसले गर्दा स्थानीयकरण भई स्थानीय तहमा नै संवेदनशीलता बढ्न सक्ने निश्चित नै छ ।

कोरोना महामारीको संक्रमणबाट गतिविधिलाई तहसनहस बनाएको छ । यसलाई नयाँ विचार, प्रविधि, रणनीतिकरूपमा अगाडी बढ्नु जरूरी छ । बेरोजगार र वैदेशिक रोजगारी गुमेर फर्केकाहरूको श्रम र शीपलाई स्थानीय स्तरको कृषि र साना तथा मध्यम लगानीका व्यवसायहरूमा उपयोग गर्ने नीति लिएर अघि बढ्नु पर्दछ । यसले स्थानीय तहको कच्चापदार्थको प्रयोग, स्थानीय रोजगारी र स्थानीय उत्पादन बढाउँछ । योसँगै सो उत्पादनको बजारीकरणमा पनि ध्यान दिन जरुरी छ, जसमा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ।

कोरोनाको असरले गर्दा स्वास्थ्यलगायत आर्थिक पुनरुत्थानको व्यय भार थपिएको छ । त्यसैले सरकारले मितव्ययिता अपनाउनु पर्दछ र जसमा सार्वजनिक खरिद प्रक्रियामा सुधार गरी पूँजीगत खर्चलाई बढाउने, सरकारका विभिन्न निकायहरूको कार्यकुशलता बढाउन र अनुत्पादक नियुक्ति घटाउने र राजस्व संकलनमा हुने ढिलासुस्ती घटाउने जस्ता कदम चाल्नु पर्दछ । नेपाल सरकारले अत्यावश्यकीय सेवा बिजुली, पानी, खाद्यान्न, सम्पत्तिकर लगायतमा केही अनुदान दिएर पनि मद्दत गर्न सक्छ ।

महामारीको समयमा आर्थिक विकास बहुआयामिक तथा जटिल प्रक्रिया हो । कूल गार्हस्थ्य उत्पादन, कुल राष्ट्रिय उत्पादन, प्रतिव्यक्ति आयको सकारात्मक वृद्धिका साथै सामाजिक, र संस्थागत विकास भई आमजनताको जीवनस्तरमा आएको बढोत्तरी आर्थिक विकास हो । यसले आर्थिक वृद्धिका साथै सामाजिक मूल्यमान्यता, सोच, संस्थाहरूको सबलीकरण, प्राविधिक सुधार, विकासका विभिन्न पात्रहरूसँगको साझेदारी, प्राकृतिक स्रोतको महत्व उपयोग, मानव संसाधनको रणनीतिक परिचालन र प्रयोग, सबल र प्रभावकारी आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका तमाम विषयहरूको माग गर्दछ ।

कोरोनाको महामारीका समयमा यी सबै परिचालन र सकृय बनाउनु जटिल विषय हो । बहुविषय र बहुपात्रसँग जोडिएको आर्थिक विकासको कार्य सरकार एक्लैले गर्नलाई वर्तमान सन्दर्भमा सम्भव हुँदैन । यसैले मुलुकलाई आर्थिक विकासको बाटोमा हिँडाउन सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संघसस्था, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय र आमजनताको सक्रिय भूमिका जरूरी छ । सार्वजनिक क्षेत्र र निजीक्षेत्र सक्रिय भई अगाडि बढ्नु आजको आवश्यकता हो ।

यसरी कोरोनाको महामारीबाट खस्केको अर्थतन्त्रलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रलगायत गैरसरकारी संघसंस्था, सामाजिक संघसंस्था सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल सरकारका रणनीतिक आर्थिक विकासमा नेतृत्वसहित जिम्मेवारी निर्वाह गर्ने तथा विकासमा जोड दिने, स्थानीय तहले ग्रामीण विकास, शहरी विकास, गरिवी, असहाय, बेरोजगारहरूको गतिविधिहरूमा वर्तमान महामारीको अवस्थामा सबैभन्दा नजिकको सरकार (चिमट्न सक्ने वा छुन सकिने सरकार) को हैसियतले योजनाबद्ध विकासको मूलप्रवाहमा ल्याई आर्थिक गतिविधि अगाडि बढाउने कार्य गर्नुपर्दछ ।

अन्त्यमा आर्थिक विकासको बाटोमा हिँडाउन सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संघ संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय र आमजनताको सक्रिय भूमिका जरूरी छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने भएको हँुदा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी समृद्धि हासिल गर्न सकिने विश्वास गर्न सकिन्छ । समाजमा छरिएर रहेको सानो पूँजी, स्रोत, सीप, श्रम, प्रविधिलाई सङ्कलन गरी आर्थिक, सामाजिक रूपान्तरणमा लगाई आर्थिक उन्नति गर्नमा सहकारी क्षेत्रको महहत्वपूर्ण भूमिका रहन्छ ।

सरकार उपस्थित हुन नसक्ने र निजी क्षेत्र आकर्षित नहुने सामाजिक व्यवसायको मर्म अनुसार आधारभूत क्षेत्रमा वस्तु तथा सेवा प्रवाहलाई सुनिश्चित गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको हुन्छ । समग्र आर्थिक विकासको गति चलायमान बनाउन अहिलेको परिस्थितिमा जटिलता भएतापनि कोरोनाको महामारीबाट मानवीय क्षति हुनबाट जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी स्थान, भूगोल, परिस्थिति, अवस्था र समयअनुसार आर्थिक विकासको गति चलायमान बनाउन सबै सकारात्मक रूपमा एकजुट हुनै पर्दछ । मास्कको उचित प्रयोग, दुई मिटरको सामाजिक दूरी कायम र समय समयमा साबुनपानीले हात सफा गर्दा कोरोनाबाट सुरक्षित हुन सकिन्छ । यिनै मापदण्डको पालना गरी आर्थिक गतिविधि सञ्चालन हुन सकेमा कोरोनाले थला पारेको आर्थिक अवस्थालाई चलाएमान बनाउन सकिने महत्वपूर्ण आधार हुनेमा विश्वास गर्न सकिन्छ ।


Published By : mechikalinews.com | For Link Click HERE

Comments